धरान: सडक मानवमुक्त धरान बनाउन उपमहानगरपालिकालाई यातायात व्यवसायीहरुले पनि साथ दिने भएका छन् । 

आफ्नै कार्यकक्षमा सरोकारवालाहरुसँगको बैठकमा मेयर हर्क साम्पाङले यातायात व्यवसायीहरुलाई सडक मानवहरुलाई गाडीमा चढ्न रोकेर सहयोग गर्न आग्रह गरेका थिए । यातायात व्यवसायीहरुले धरानलाई सडक मानवमुक्त सहर बनाउने आफुहरुको पनि दायित्व भएकोले पहिचान हुन सकेका सडक मानवहरुलाई गाडी चढ्नबाट रोक्न कर्मचारीहरुलाई सुचित गर्ने बताएका थिए । साथै, विगतमा नगर यातायात व्यवस्थापन समिति हुँदा धेरै सहज र समन्वयकारी भुमिका भएको भन्दै उनीहरुले पुनः सोही समितिलाई ब्युउँताउन पनि मेयर साम्पाङलाई आग्रह गरेका थिए । 

उक्त बैठकमा उपमेयर अइन्द्र बिक्रम बेघा, सामाजिक विकास समिति संयोजक सृर्जना नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश अध्यक्ष सरोज श्रेष्ठ, पुर्वेली संयुक्त यातायात प्रालिका दुर्गा वोखिम, सप्तकोशी मोटर यातायात प्रालिका सचिव हरि थापा, बराहक्षेत्र सुनसरी यातायात प्रालिका अध्यक्ष रामबहादुर परियार, जिल्ला ट्राफिक प्रहरी प्रमुख सुभास केसी, नगर प्रहरी प्रमुख विष्णु कोइरालालगायत सहभागी थिए । 

sadak manav1

आकस्मिकरुपमा भएको बैठकले सडक बालबालिकाहरु एक्लो अवस्थामा देखिएमा, सडक मावनमा हुने लक्षण देखिएमा गाडीमा चढाउने कार्य रोक्ने निर्णय गरेको छ । गाडी चढेर आउदा पहिचान भएमा धरान उपमहानगरपालिका वा सम्बन्धित निकायमा जानकारी गराउने निर्णय पनि उक्त बैठकले गरेको छ । 

यसैगरि, सडक मानवलाई व्यवस्थापन गर्नको लागि ज्ञानवद्र्धक तथा सचेतनामुलक स्टिकर नगरपालिकाले तयार गरेर व्यवसायीसँगको समन्वयमा बसहरुमा टाँस्ने पनि बैठकले निर्णय गरेको छ । धरान प्रवेश गर्ने नाकाहरुमा चेकजाँच र परीक्षण गरि सडक मानवहरुलाई व्यस्थापन गर्ने निर्णय भएको छ भने सरोकारवाला निकायले संयुक्त पहल गरेर रेकर्ड र रिपोर्ट राख्ने पनि निर्णय उक्त बैठकले गरेको छ । साथै, सडक मानवको स्थायी ठेगाना नखुलेसम्म केही दिन राख्न (सेल्टर) उपयुक्त स्थानको खोजी गरेर व्यवस्थापन गर्ने पनि निर्णय उक्त बैठकले गरेको छ । 

किन आउछन् धरानमा सडक मानवहरु ?

उपमहानगरपालिकाको सामाजिक विकास समिति संयोजक सृर्जना नेपालका अनुसार कोशी प्रदेशमै धरान सबैभन्दा बढी सडक मानवहरु आउने सहर हो । धरानमा ९८ प्रतिशत सडक मानवहरु बाहिरबाट आउने गरेको उनले बताइन् । 

sadak

उनका अनुसार सडक मानवहरु धरानमा आकर्षित हुनुमा यहाँ सहजरुपमा पाउने पैसा र खानेकुरा हो । धरानबासीहरुले माग्न आउनेहरुलाई कम्तीमा ५ रुपैयादेखि १०, २० रुपैयासम्म दिने र खानेकुरा पनि दिने गरेकोले सडक मानवहरु आकर्षित भइरहेको उनले बताइन् । एक दिनमा ५० हजार भन्दा बढी रकम मगन्तेहरुले धरानबाट उठाउने गरेको पनि आफुले अनुगमन गर्दा पाएको उनले खुलाइन् । 

यसैगरि, धरानबाट सबै क्षेत्रमा यातायात चल्ने भएकोले पनि सडक मानवहरु आउन सहज भएको छ भने फोहोर मैलाबाट दिनभरि प्लाष्टिक, टिनफलाम संकलन गर्ने र राती सडकमा बस्ने संयोजक नेपालले बताइन् । कतिपय सडक मानवहरु पारिवारिक तनावको कारणले पनि सडकमा आएको पाइएको उनले बताइन् । गत बर्ष १४७ जनालाई व्यवस्थापन गरिएको जानकारी दिदै उनले सडक मानवलाई व्यवस्थापन गर्न चुनौतीपुर्ण रहेको बताइन् । सडक मानवको कारण शान्ति सुरक्षामा पनि चुनौती भएको भन्दै उनले सडकमा आउन दिनुभन्दा पहिल्यै व्यवस्थापन गर्न उचित भएकोले यातायात व्यवसायी, प्रहरीसँग समन्वयकारी बैठक बसेको बताइन् । 

भिडियो: