धरान: विभिन्न पाँच राजनीतिक दलहरुले धरानमा प्रमुख प्रशासकीय अधिकृत पठाउन अनुरोध गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्राचार गरेका छन् ।

धरान विगत ८ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन अवस्थामा रहेको भन्दै राजनीतिक दलहरुले शुक्रबार पत्राचार गरेको हो । उक्त पत्रको बोधार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारमा पनि दलहरुले पठाएका छन् । नेपाली कांग्रेसका सभापति श्याम पोखरेल, एमालेका अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्रका इञ्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ), जनता समाजवादी पार्टी नेपालका अध्यक्ष ताजुब लिम्बु र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष रेवतीरमण राईले पत्राचार गरेका हुन् । 

दलहरुले प्रमुख प्रशासकीय अधिकृत नहुदा नगरपालिकाबाट सञ्चालन हुने विकास निर्माणको कामहरुसहित दैनिक प्रशासनिक कामहरुसमेत अवरुद्ध भएको र कानुन, नीति, नियम कार्यान्वयनमा गम्भीर समस्या उत्पन्न भइरहेको पत्रमा उल्लेख गरेका छन् । ‘यसको परिणाम धरान उपमहानगरपालिका गैरकानुनीढंगबाट सञ्चालन भइरहेको छ,’ पत्रमा भनिएको छ ।

पछिल्लो समय नगर प्रमुखले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कानुन विपरीतका कामहरुमा हस्ताक्षर गर्न दबाब दिएको र उक्त दबाब अस्वीकार गरे पश्चात काम नगर्न आदेश जारी गरेपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत नरहेको अवस्था सृर्जना भएर कामकाज ठप्प भएको दलहरुले पठाएको पत्रमा उल्लेख छ । ‘जेष्ठ नागरिक, एकल महिला, अपांगता, दिर्घरोगी लगायत नागरिकहरुले तत्काल पाउनुपर्ने सेवा सुविधासमेत रोकिएको छ भने विकास निर्माणका भुक्तानीहरु, शिक्षक तथा कर्मचारीहरुको सेवा सुविधामा समेत प्रत्यक्ष असर परिरहेको छ,’ पत्रमा भनिएको छ ।

धरान उपमहानगरपालिकाको गम्भीर र संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै क्रियाशिल राजनीतिक दलहरु कानुन विपरीतका क्रियाकलापहरुमा मुकदर्शक भइरहन नसक्ने भएकोले नेपाल सरकारको तर्फबाट तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाइदिन पत्रमा अनुरोध गरिएको छ ।

7 dal copy