धरान:भोजपुरको हतुवागढी गाउँपालिकाका कोरोना संक्रमित व्यक्तिको धरान १३ स्थित मावली घरका दुई सदस्यमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको छ ।

आज साँझ गरिएको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटी)मा संक्रमित युवाको ८४ बर्षीय हजुरबा र ४० बर्षीय माइजुको रिपोर्ट नेगेटिभ आएको हो । ‘हजुर बा र माइजुको आरडिटी रिपोर्ट नेगेटिभ आयो, उहाँहरुमा कुनै लक्षण पनि देखिएको छैन,’वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले भने । उनका अनुसार परिवारमा २ जना करिब १३ बर्षका बच्चाहरु पनि छन् । उनीहरुको भने किटको अभावले परीक्षण गर्न बाँकी नै छ । ‘किट आउनुबित्तिकै बच्चाहरुको पनि परीक्षण हुन्छ,सामान्य अवस्था छ,’उनले भने । वडा अध्यक्ष काफ्लेले भोली बिहान उक्त घर र टोललाई नै सेनिटाइज गर्ने पनि जानकारी दिए ।

उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका कविराज रामबाबु यादवले २ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएकोले डराउनुपर्ने अवस्था नभएको बताए । पिसिआर जाँच गर्न पनि आवश्यक नभएको उनको भनाई थियो । दुई जना बच्चाको पनि किट आएपछि शनिबार जाँच गरिने उनले बताए । भोजपुरका कोरोना संक्रमित युवा लकडाउन अघि धरान १३ स्थित मावली घर पनि आएको खुलेपछि उक्त घर खोजी गरेर आरडिटी परीक्षण गरिएको हो । उनी साउदीबाट फागुन ३० गते काठमाण्डौं अवतरण गरेर नाइट बसमा झुम्का आएका थिए । त्यहाँबाट चतरामा श्रीमति भेटेर धरान, इटहरीलगायत सहरहरु घुमेका थिए । उनी उदयपुरको मैनामैनीस्थित ससुराली हुदै हतुवागढी ६ होम्ताङ पुगेका थिए । उनी नेपाल आएको ४१ औं दिनमा आरडिटी जाँच गर्दा पोजेटिभ देखिएपछि स्वाब लिएर वीपी प्रतिष्ठानमा जाँच गर्दा पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको थियो ।