धरान: श्याम चोक युवा समुह धरान १५ ले सडकबाट उद्दार गरेर लांघाली सामुदायिक वन समुहको आवास गृहमा राखिएका मानिसहरुको लागि खाद्यान्न सहयोग गरेको छ ।

समुहका अध्यक्ष ललित योञ्जनसहित समुहका युवाहरु मंगलबार दिउँसो लांघाली आवास गृहमा पुगेर खाद्यान्न हस्तान्तरण गरेका थिए । उनीहरुले सडक मानव उद्दार तथा व्यवस्थापन समितिकी सचिव एवं उपमहानगरपालिकाकी कर्मचारी जुनु राईलाई हस्तान्तरण गरेका थिए । समुहका अध्यक्ष योञ्जनका अनुसार युवा साथीहरुको पहलमा एकै दिनमा राहत संकलन गरिएको हो । फेसबुकमार्फत थाह पाएर स्वेच्छाले सहयोग जुटेको उनले बताए ।

सहयोगी समुहले लगभग ३५ हजार बराबरको खाद्यान्न दिएको जनाएको छ । आलु, लसुन, अदुवा, चामल, अण्डा, विस्कुट, नुन, चिनी, चिया रंग, तेललगायत आवश्यक पर्ने सबै खाद्यान्नहरु दिइएको अध्यक्ष योञ्जनले बताए । ‘यो हामीले एकै दिनमा साथीभाईहरुबाट सहयोग जुटाएर खाद्यान्न सहयोग गरेका हौं,’उनले भने,‘करकाप गरेर होइन, स्वेच्छाले नै सहयोग भएको हो ।’ सहयोग पश्चात युवाहरुले श्याम चोक नजिकैका एक युवालाई भेट्न पनि गएका थिए । मानसिकरुपमा केही समस्या भएका ती युवालाई पनि लांघाली आवास गृहमा राखिएको छ । उनको यहाँ स्वास्थ्य उपचार पनि भइरहेको छ ।

shyam-chowk shyam-chowk1 shyam-chowk2