धरान:सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश जारी भएपछि जिम्मेवारीमा फर्किएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुले कामकाज शुरु गरेका छन् ।

सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले शुक्रबारदेखि पुनः पदिय जिम्मेवारीअनुसारको कामकाज शुरु गरेका हुन् । उपकुलपतिले माघ महिनाको शिक्षक तथा कर्मचारीहरुको तलब भुक्तानी स्वीकृत गरेको प्रतिष्ठानस्थित कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राईले जानकारी दिएका छन् । सरकारले काम गर्न रोक लगाएपछि पदाधिकारीविहिन भएको प्रतिष्ठानमा कर्मचारीहरुको माघ महिनाको तलब पाएका थिएनन् ।

सरकारले वहालवाला पदाधिकारीहरुको काम गर्ने अधिकार खोसेर मन्त्रालय र महालेखाबाट कर्मचारी पठाउने निर्णय गरेको थियो । त्यसविरुद्ध प्रतिष्ठानका उपकुलपति डा.गिरी र अस्पताल निर्देशक डा.साहले सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त रिट निवेदनको फागुन ४ गते सुनुवाई गर्दे सर्वोच्चका न्यायाधिश इश्वरप्रसाद खतिवडाले पदाधिकारीहरुको पक्षमा अल्पकालिन अन्तरिम आदेश जारी गरेका थिए ।

मेरो कसैसँग इगो छैन: उपकुलपति

जिम्मेवारीमा पुनः फर्किएका उपकुलपति डा.गिरीले आफ्नो प्राथमिकता संस्थालाई अघि बढाउने र विगतमा थालनी भएको कामहरुलाई पुरा गर्ने रहेको प्रतिक्रिया दिए । क्लिकधरानसँग संक्षिप्त प्रतिक्रिया दिदै डा.गिरीले सबैलाई समेटेर संस्थाको समग्र विकासमा अघि बढ्ने पनि बताए । उनले भने,‘’विगतमा के भयो भुलेर वर्तमानमा टेकेर संस्थाको भविष्य बनाउन सबैको सुझाव लिएर अघि बढ्छुँ ।’

उपकुलपति डा.गिरीले कसैसँग आफ्नो इगो नभएको पनि जिकिर गरे । उनले आफ्नो मनमा कसैप्रति दुराग्रह नभएको दाबी गर्दै संस्थाको भलाईको लागि काम गर्ने बताए । उनले भने,‘कसैसँग इगो छैन, मेरो मनमा दुराग्रह छैन । सबैसँग मिलेर मिलेर संस्थाको हितमा काम गर्ने हो ।’