धरान: विवादको कारण स्थगित भएको धरानको मतगणना कार्य सुचारु भएको छ । 

आज बिहान करिब पौने ९ बजेदेखि मतगणना कार्य सुचारु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । अहिले वडा नं ८, १२ र १९ को मतगणना भइरहेको छ । विवाद भएको वडा नं २० लाई थाति राखेर अन्य वडाको गणना कार्य सुचारु गर्ने राजनीतिक दलहरुबीच सहमति जुटेपछि गणना कार्य शुरुवात भएको हो ।

हिजो मतगणनाको क्रममा वडा नं २० को मतपेटिकामा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षर विना भेटिएपछि विवाद भएको थियो । उक्त मतपत्र वदर भएको छ । तर, माओवादी केन्द्रले पुनः गणना गर्न माग राखेको थियो । सोही बिषयमा पटक पटक मतगणनास्थलमा तनाव सृर्जना भएको थियो । माओवादी केन्द्रले आफ्नो माग सम्बोधन नभएसम्म प्रतिनिधि नपठाउने अडान राखेको थियो ।

बुधबार राती मतदान अधिकृतले माओवादी केन्द्रको प्रतिनिधिविना गणना सुचारु गर्ने तयारी गरेपछि करिब १० बजेतिर पुनः विवाद भएको थियो । माओवादी र एमालेका कार्यकर्ताहरुबीच मतगणना भइरहेको भवनमै झण्डै हात हालाहाल भएको थियो । उक्त घटना पछि बसेको बैठकमा २० को थाती राखेर आज (बिहिबार) बिहान ८ बजेदेखि अन्य वडाको मतगणना सुचारु गर्ने दलहरुले सहमति गरेका थिए ।