धरान: धरानका मेयर हर्कराज राई (साम्पाङ)ले कुनै पनि खोला उत्खनन गर्न ठेक्का नलगाउने बताएका छन् ।

बुधबार केही सञ्चारकर्मीहरुसँग कुरा गर्दे मेयर राईले आफु आउनुअघि ठेक्का लगाउन प्रक्रिया थालेपनि रद्द गरेको जानकारी दिए । वन कार्यालयबाट पनि गुनासो आइरहेको भन्दै उनले आफु मेयर भइञ्जेल प्राकृतिक संरचना दोहन गर्ने गरि खोलाहरु ठेक्का नलगाउने दाबी गरे । ‘म ५ बर्ष रहेसम्म खोलाहरुको ठेक्का लाग्दैन । प्राकृतिक संरचना बिगारेर, धरानलाई भत्काएर बजेट बनाउनु हुदैन । बरु दुःख गरेर बसौ न । सुविधा भोग गर्नको लागि माटो बेच्ने, ढुंगा बेच्ने, जंगल बेच्ने, जलाधार बेच्ने काम नगरौं,’उनले भने ।

harka-mayor

मेयर राईले आइईई रिपोर्ट पनि झुटो बनाउने गरेको भन्दै एक इञ्च पनि खोला खन्न नदिने बताए । खोला ठेक्का नलगाउदा राजश्व कम हुने भए पनि बरु बाटो नबनाउने उनले बताए । ‘बरु बाटो बनाउदिन । पानी चै ल्याएर खुवाउछुँ, त्यसको लागि जे पनि गर्छु,’उनले भने,‘ तर धरानको सेउती, सर्दु, जलाधार सबै भत्काएर, विजयपुर सिध्याएर के विकास गर्न खोजको हामीले ?’ उनले खोलाको वहावलाई नियन्त्रण गर्न र बीच भागमा थुप्रिएको ढुंगा, गिट्टीलाई भने व्यवस्थापन गर्ने बताए ।

मेयर राईले गत बर्ष धरानको सुर्द, सेउती खोला ठेक्का लगाएर जथाभावी उत्खनन् गरेको भन्दै चर्को विरोध गरेका थिए । विरोध गरेर सर्दुबाट फर्कदा उनलाई प्रहरीले धरान ११ मंगलबारेमा रोकेको थियो भने महिला प्रहरीलाई हातपात गरेको आरोपमा मुद्दा समेत चलाएको थियो । उनी लामो समय लुकेर बसेका थिए । उनका समर्थकहरुलाई ठेकेदारले गुण्डाहरु परिचालन गरेर आक्रमणसमेत गरेको थियो । 

कार्यपालिका बैठक मिडियालाई लाइभ गर्न दिने

harka-mayor-drn

मेयर राईले कार्यपालिका बैठकमा मिडियालाई प्रवेश गर्न र लाइभ पनि गर्न दिने बताएका छन् । उपमेयर अइन्द्रबिक्रम बेघा काम बिशेषले काठमाण्डौं गएको र २० गते फर्के पछि जेठ २१ गते बैठक राख्ने तयारी भएको पनि उनले बताए ।

सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै मेयर राईले भने,‘कार्यपालिका बैठकमा मिडिया आउनुस्, म अनुमति दिइहाल्छुँ । लाइभ पनि गर्नुस्।’

भिडियो: