धरान: अतिथि सत्कार एवं पर्यटन उद्योगको प्रर्वद्धन गर्ने उद्देश्यले धरानमा अन्तरकलेज प्लस टु युएन सेफ प्रतियोगिता आयोजना हुने भएको छ ।

धरान १६ स्थित युएन कलेजको आयोजनामा असार ६ गते प्रतियोगिता हुन लागेको हो । कलेजले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । कलेजका प्रमुख डम्बर कुमार तुम्बापोले होटल मेनेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरुलाई आफुले जानेको, सिकेको र बुझेको सीप तथा ज्ञानलाई प्रर्दशन गर्ने राम्रो प्लेटफर्म उपलब्ध गराउन प्रतियोगिता आयोजना गरिएको बताए । 

प्रतियोगितामा कक्षा १२ मा होटल मेनेजमेन्ट अध्ययनरत विद्यार्थीहरुले भाग लिन पाउनेछन् । हरेक कलेजबाट अधिकतम २ वटा समुहले भाग लिन पाउने पनि प्रमुख तुम्बापोले जानकारी दिए । उनका अनुसार एउटा ग्रुपमा २ जना विद्यार्थी रहनेछन् । ‘यो प्रतियोगिताले पर्यटन र समग्र हस्पिटालिटी इण्ड्रष्ट्रिमा महत्वपुर्ण योगदान पुर्याउनेछ,’उनले भने,‘व्यवहारिक शिक्षा लिइरहेका विद्यार्थीहरुले प्लस टु लेभलमा पढेका, जानेका, बुझेका र सिकेका सिपलाई प्रर्दशन गर्ने राम्रो प्लेटफर्मकोरुपमा यो प्रतियोगिता सावित हुनेछ भन्ने विश्वास लिएका छौ ।’

आयोजकले विजेता विद्यार्थीलाई बिएचएममा छात्रवृत्तिसहित नगद १ लाख रुपैया र ट्रफी पुरस्कार दिइने जनाएको छ । फष्ट रनरअपलाई पनि छात्रवृत्तिसहित नगद ५० हजार दिइनेछ भने सेकेण्ड रनरअपलाई पनि छात्रवृत्तिसहित नगद ३० हजार पुरस्कार दिइने कलेज प्रमुख तुम्बापोले जानकारी दिए ।

भविष्यमा विद्यार्थीहरु आत्मनिर्भर बन्न सकुन् भन्ने उद्देश्यले पनि आयोजना गरिएको प्रमुख तुम्बापोले बताए । साथंै, कतिपयलाई सेफको बारेमा र पर्यटन उद्योगमा सेफको महत्वबारे पनि थाह नभएकोले यो प्रतियोगिताले जानकारी गराउने उनले बताए । प्लस टु लेभलमा पढाई हुने ३० भन्दा बढी कलेजहरु भएको खुलाउदै तुम्बापोले सबै कलेजहरुलाई विद्यार्थी प्रतियोगितामा सहभागिता गराउन आग्रह पनि गरिएको जानकारी दिए । 

कलेजका होटल मेनेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठले होटल मेनेजमेन्ट अरु जस्तै बिषय मात्र भएको आमबुझाई रहेको तर यो प्राविधिक बिषय हो भन्ने प्रमाणित गर्नलाई पनि प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने,‘यो अरु जस्तो बिषय हो भन्ने बुझाई छ, तर यो पुरै टेक्निकल बिषय हो । धेरै सिप सिक्नुपर्ने हुन्छ । सामान्य बिषय र किताब पढ्ने मात्र होइन । त्यसैले सबैलाई सिकाउनलाई पनि आयोजना गरिएको हो ।’ 

कलेजका अध्यक्ष ज्ञानेश्वर झाले पनि प्रतियोगिता विद्यार्थीहरुको लागि एउटा प्राक्टिकल पार्ट भएको बताए । कलेजमा अध्ययनको क्रममा विद्यार्थीले सिकेको कुरालाई परीक्षण गर्ने मौका भएको उनले बताए । ‘विद्यार्थीहरुलाई प्लेट फर्म हो । विद्यार्थीहरुले मैले कति सिकेको छँु, के सिकेको छुँ भनेर परीक्षण गर्ने मौका हो । यसले कहाँ मेरो कमजोरी छ, कहाँ सुधार गर्नसक्छु भन्ने थाह पाउनेछन् । उनीहरुले यस्तो प्लेट फर्म नै पाएन भने थाहै पाउदैन,’ झाले भने ।

भिडियो: