धरान: पकुवा खोलामा जनश्रमदान गरेर पानी ल्याउने मेयर हर्क साम्पाङको योजना सफल भइसकेको छ । अब उनको ध्यान कोशी राजमार्गको धरान धनकुटे सडक खण्डमा पर्ने निशाने खोलातर्फ सोझिएको छ ।

शुक्रबार दिउँसो उनी निशाने खोला पुगेर फर्किएपछि पकुवामा जस्तै निशाने खोलाबाट पनि पानी ल्याउने योजना शुरु गर्ने घोषणा गरे । सञ्चारकर्मीहरुमाझ मेयर साम्पाङले निशाने खोलाबाट पनि श्रमदानबाट नै पानी ल्याउने आफ्नो योजना सुनाए । साथै उनले उक्त कार्यको लागि पकुवामा जिम्मा दिएकै दत्तकुमार लिम्बुलाई नै प्राजेक्ट मेनेजरको जिम्मेवारी दिएको पनि घोषणा गरे । 

nishane1

निशाने खोलाको पानी बर्षायाममा मात्र हुने सञ्चारकर्मीको प्रश्नमा मेयर साम्पाङले बर्षामा पनि धरानमा पानीको अभाव हुने गरेको भन्दै जंगलमा जमिन मुनिको पानी तान्ने पम्प महिनामा २, ३ पटक बिग्रिने र एउटा पम्प बनाउन २ लाखसम्म खर्च हुने बताए । बर्षायाममा खोला खोल्सीमा भएको सतहको पानी ल्याउन सके पम्प चलाइरहन नपर्ने र बर्षायाम भरि पम्प बिग्रेर बनाउनु परेको, विजुली चलाएको खर्च जोगिने मेयर साम्पाङले बताए । साथै, दीर्घकालिन समाधान कोशीबाट पानी ल्याउनै पर्ने उनले सुनाए ।