धरान: विगत ५ महिनादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुधारको माग गर्दै भएको सेभ घोपा अभियान आन्दोलनसँग स्वास्थ्य मन्त्रालय र प्रतिष्ठानले ५ बुँदे लिखित सहमति गरेको छ । 

आइतबार भएको सहमति पत्रमा स्वास्थ्यमन्त्री भवानी खापुङ, प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र हामी नेपाल तथा सेभ घोपा अभियानका संयोजक सुधन गुरुङले हस्ताक्षर गरेका छन् । हिजो (शनिबार) साँझ स्वास्थ्यमन्त्री खापुङले सम्बोधन गरे पछि १३८ आंै दिनमा आन्दोलन अन्त्य गरेको घोषणा गरिएको थियो ।

सहमति पत्रमा के छ ?

सहमतिको पहिलो बुँदामा विरामीको चापलाई ध्यानमा राखेर थप डिजिटल एक्स रे मेशिनलगायत अन्य आवश्यक उपकरणहरु क्रमशः जडान गर्दै जाने उल्लेख छ । यस्तै, विगत ४ बर्षदेखि माग भएर पनि पुरा नभएको एमआरआई मेशिनको खरिद र सञ्चालनको लागि अपुग बजेट निर्धारणको व्यवस्था र यथासीघ्र टेण्डर आह्वान गरिने सहमतिको दोस्रो बुँदामा उल्लेख छ । 

तेस्रो बुँदामा खरिद प्रक्रिया अझै पारदर्शी गर्दै प्रतिष्ठानको वेभसाइटमा राख्ने आदेश तथा कार्यान्वयन १ महिना भित्र गर्ने उल्लेख छ भने चौथो बुँदामा अस्पतालमा सेवाग्राहीको चापलाई ध्यानमा राखेर चिकित्सकहरुलगायत स्वास्थ्यकर्मीहरुको दरबन्दी, पारदर्शी छनौट प्रक्रिया र चुस्त व्यवस्थान गर्ने उल्लेख छ । पाँचौं बुँदामा अस्पतालको अनुगमन सम्बन्धित निकायबाट नियमितरुपमा गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

save-ghopa1 1