धरान: बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान अवस्थाबारे नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

कांग्रेस क्षेत्रीय समितिले प्रतिष्ठान व्यवस्थापनलाई बेथिती एवं विसंगतिहरुको अन्त्य गर्न पहल गर्न पटक पटक मौखिकरूपमा अनुरोध गर्दा सुधार नगरेको भन्दै कांग्रेसले विभिन्न ९ बुँदे सुझावहरु कार्यान्वयन गर्न माग गरेको छ । आर्थिक संकटले प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको भन्दै सुधारको लागि विभिन्न ९ बुँदा सुझाव दिइएको क्षेत्रीय सचिव एवं प्रवक्ता केशव पुरीले जारी गरेको विज्ञप्तीमा उल्लेख  छ । सुधारको कार्यहरु नगरिए सशक्त संघर्ष गर्न बाध्य हुने पनि उल्लेख छ । 

यसैगरि, कांग्रेसले चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसीले प्रतिष्ठानको सुधारको लागि राखेका मागहरुको समर्थन गर्ने पनि जनाएको छ । साथै, डा.केसीले भदौ १२ गतेबाट शुरु गर्न लागेको सत्याग्रहको समर्थनमा विभिन्न कार्यक्रम संचालन गर्ने पनि जनाएको छ।

तत्काल सुधार गर्न कांग्रेस सुनसरी क्षेत्र नं १ को यस्तो छ सुझाव :

१. प्रतिष्ठानको हालको विरामी उपचार शुल्कहरु नेपाल सरकार मातहतका अस्पताल सरह निर्धारण गर्ने, उपचार शुल्क सम्बन्धि नागरिक बडापत्र जारी गर्ने  ।

२. पेयिङ्घ सेवा मार्फत मोलमोलाई गरेर उपचार नगर्ने विरामीहरुले विरामी जांच, उपचार, अपरेसन र प्रयोगशाला तथा अल्ट्रासाउण्ड/एक्स–रे सम्बन्धि सेवाको लागि हप्तौं/महिनौं कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने, तत्काललाई पेयिङ्घ सेवा बन्द गरि यसलाई व्यवस्थित गरेर मात्र सूचारू गर्नुपर्ने ्र प्रतिष्ठानमा डायलाइसीस र आईसियूको सेवा वृद्धि गर्नुपर्ने, २००/२०० वेडको मुटु र क्यान्सर उपचार केन्द्र स्थापनाको कार्य प्रारम्भ गर्नुपर्ने । 

३. सबै विरामीका प्रयोगशाला जांचका रिपोर्टहरु अनलाइन हुने व्यवस्था गर्नुपर्ने ।

४. पदाधिकारीहरुको अनियन्त्रित खर्च कटौती गरिनुपर्ने ्र पदाधिकारीको पदमा बसेर तलबको अतिरिक्त “आकर्षण भत्ता” लिने व्यवस्था खारेज गर्नुपर्ने  ।

५.प्रतिष्ठानका अनियमितता सम्बन्धि सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमाण रहंदा रहंदै पनि कारवाही नगरेको देखिंदा तत्काल कारवाही हुनुपर्ने ।

६. सर्वोच्च अदालतको “अल्पकालीन अन्तरिम आदेश” कै भरमा अनेकौं आर्थिक निर्णयहरु गरिएको देखिएकाले “अन्तरिम आदेश” को हद म्याद तोकिनु पर्ने  ।

७. प्रतिष्ठानका दक्ष विशेषज्ञहरु क्रमशः प्रतिष्ठान छोडेर जाने क्रम बढेकोले सो रोक्न ठोस योजना ल्याउनु पर्ने ।

८. प्रतिष्ठानका शिक्षक र कर्मचारीका नियमित वृत्ति विकाशका कार्यलाई सूचारू गर्नुपर्ने ।

९. मन्त्रालय एबं चिकित्सा शिक्षा आयोगको मापदण्ड र प्रतिष्ठानको ऐन तथा नियमावली विपरित भएका नियुक्तिहरू खारेज हुनुपर्ने  ।

congress1