धरान: डेंगुको प्रकोप भोगिरहेको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई इटहरीका मेयर हेमकर्ण पौडेलले फगिङमा खर्च नगर्न सुझाव दिएका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत इटहरीका मेयर पौडेलले असल छिमेकी भएको नाताले आफ्नो अनुभवको आधारमा केही दिनुपर्छ भन्ने लागेर सुझाव दिएको उल्लेख गरेका छन् । हिजोको दिनमा इटहरीमा डेंगु उच्च प्रकोप हुँदा २० वडामा फगिङ गर्दा ४० लाख खर्च भएको तर झन् फैलिएको उल्लेख गरेका छन् । उनले फगिङको साटो सम्भाबित लार्भा बस्ने स्थानको पहिचान गरि पानी जम्ने ठाँउ नस्ट गर्ने, आफ्नो घर, आगन, टोल सफाइ अभियान  प्रभावकारी हुने सुझाव दिदै भनेका छन्, 'धरान हरेक हिसाबले सुरक्षित शहर बनोस शुभकामना । '

धरानमा करिब दुई महिनादेखि डेंगुको प्रकोप फैलिएको छ । एक जनाको मृत्युसमेत भइसकेको छ । धरानको २० वटै वडामा फैलिएको डेंगु नियन्त्रणमा स्थानीय सरकार गम्भीर नभएको भन्दै आलोचना पनि भइरहेको छ । मेयर साम्पाङले पछिल्लो दुई शुक्रबार लागु औषध विरुद्धको अभियान सकेर लार्भा नष्ट गर्न सर्च एण्ड डिस्ट्रोय अभियान पनि गरेका छन् । तर, वडाका जनप्रतिनिधि, टोल विकास संस्थाहरु परिचालित हुन सकेका छैनन् । जनताको माग भन्दै वडाहरु फगिङ गर्न केन्द्रीत छन् । हिजो बुधबार मेयर साम्पाङ आफैले धरान ११ मा फगिङ मेशिन लिएर केहीबेर फगिङ गरेका थिए ।

hemkarna status