धरान: उमेर हदको कारण देखाउदै घण्टाघरबाट निकालिएका दुई जना मजदुरहरु प्रकाश राई र नरबहादुर सुब्बा (राजा मामा) लाई पुर्नवहाली गर्न वा न्यायोचित अनुदान दिएर विदाई गर्न ट्रेड युनियनहरुले माग गरेको छ । 

धरानका तीनवटा ट्रेड युनियनहरुले शुक्रबार मेयर हर्क साम्पाङलाई ध्यानाकर्षण गराउदै यस्तो माग गरेको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राईसहित अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन काग्रेस आवद्ध विभिन्न संगठनका नेतृत्वको प्रतिनिधि मण्डलले मेयर साम्पाङलाई ध्यानाकर्षण गराएका थिए । अध्यक्ष राईले मजदुरहरुलाई पुनर्वहाली पहिलो सर्त भएको बताए । उनीहरुलाई विदाइ गर्ने हो भने श्रम ऐन २०७४, नियमावली २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार मजदुरहरुलाई न्यायोचित अनुदान दिएर विदाइ गर्नु पर्ने पनि बताए ।

मेयर साम्पाङले कार्यपालिका बैठक सौहार्दपुर्ण नभएकाले मजदुरहरुको बारेमा निर्णय गर्न नसकिएको बताए । उनले घण्टाघर व्यवस्थापन समितिबाट आउनुपर्ने १५ लाख नगरपालिकामा आइनसकेको र अन्य पैसा समेत कहाँ गयो भन्ने टुंगो नभएकोले समितिले राखेको सोही पैसाबाट मजदुरहरुलाई अनुदान सहयोग गर्नुपर्ने बताए । 

ghantaghar raja mama

घण्टाघरमा मालीको काम गर्दै आइरहेका नरबहादुर सुब्बा २०६२ साउन १ गतेदेखि र प्रकास राई २०७२ साउन १३ गतेदेखि सेवा गर्दै आइरहेका थिए । उपमहानगरपालिकाले २०८० साउन १ गतेदेखि उमेरको हदबन्दीलाई कारण देखाउँदै हटाएको थियो । तर, उनीहरुलाई कुनैपनि क्षतिपूर्ति दिइएको थिएन । त्यसको विरोधमा ट्रेड युनियनहरुले संयुक्त ज्ञापनपत्र बुझाउदै आन्दोलन र तालाबन्द पनि गरेका थिए ।

भदौ ११ गते मेयर र मजदुर प्रतिनिधिहरुको उपस्थितिमा निकालिएका मालीहरुलाई एक वर्ष कार्यकाल थपिदिने वा चित्तबुझ्दो अनुदान स्वरुप सहयोगका लागि कार्यपालिकाको बैठकमा प्रस्तुत गर्ने निर्णय भएको थियो । असोज १७ गते भएको धरान उपमहानगर कार्यपालिका बैठकमा विवाद चर्किएर बैठक स्थगित भएको थियो ।