धरान: धरानको वडा नं २० को पुनः मतगणना पछि निवार्चित जनप्रतिनिधिहरुको नाम घोषणा गरिएको छ । 

वडा २० को अध्यक्षमा पदमबहादुर लिम्बुले ६०४ मत प्राप्त गरेर वडाअध्यक्षमा निवार्चित भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका विजय लामा तामाङले ५९६ मत प्राप्त गरेका छन् । एमालेका वडाअध्यक्षमा उम्मेद्वारले महासेर राई ५८० मत प्राप्त गरेका छन् ।

यस्तै, वडा महिला सदस्यमा भने नेकपा एमालेबाट पञ्चमी राई ६२४ मत प्राप्त गरेर निवार्चित भएकी छिन् भने दलित महिला सदस्यमा नेपाली कांग्रेसबाट रमा बिक ६१३, खुला सदस्यमा कांग्रेसबाट देवेन्द्र राई ६१४ र रामबहादुर राई ६५७ मत प्राप्त गरेर विजयी भएका छन् । 

मतपत्र दस्तखत विनाको भेटिएपछि विवादको कारण निर्वाचन कार्यालयले अन्तिम मतपरिणाम घोषणा गर्न सकेको थिएन । आज (शनिबार) दिउँसो वडा अध्यक्षको मतको पुनः गणना भएको थियो । पुनः मतगणना गर्दा थप ३ वटा मतपत्र दस्तखत विनाको भेटिएर वदर भएको थियो । थप वदर भएको मतपत्र नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको एक एक वटा थियो । यसअघि पनि १८ वटा मतपत्र निर्वाचन अधिकृतको दस्तखतविना भेटिएर वदर भइसकेको थियो ।

राजनीतिक दलहरुको सहमतिमा पुनःमतगणना गरेपछि निर्वाचन अधिकृत पुष्करराज नेपालले अन्तिम मतपरिणाम र निवार्चित उम्मेद्वारहरुको नाम घोषणा गरेका थिए ।