धरान: मंसिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारहरुको सम्पुर्ण जानकारी दिने गरि क्युआर कोडको लञ्च गरिएको छ । 

आइतबार धरान १९ मा घरदैलो अभियानको क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो र प्रदेशसभा १ (१) का उम्मेद्वार नेपाली कांग्रेसका उमेश थापाले क्युआर कोड लञ्च गरेका हुन् । गठबन्धनबाट प्रदेशसभा १ (२) मा नेकपा एकीकृत समाजवादीका रेवतीरमण राई उम्मेद्वार छन् ।

निर्वाचन प्रचारको क्रममा जनताको चासो सुन्न र आफ्ना कुराहरु सुनाउनको लागि वेभसाइट बनाएर तीनै जना उम्मेद्वारहरुको सम्पुर्ण जानकारी राखिएको प्रतिनिधिसभा सदस्यका उम्मेद्वार मेन्याङ्बोले बताए । उक्त वेभसाइटमा उम्मेद्वाहरुको संकल्प पत्रहरु, भिडियो र समाचारहरु उपलब्ध हुनेछ भने त्यहाँ उम्मेद्वाहरुलाई जिज्ञासा राख्न र सुझाव दिन पनि सकिने उनले बताए । ‘त्यसको सहजताको लागि क्युआर कोड बनाएका छौं, र आज यो लञ्च गरिएको छ,’ उनले भने ।

उम्मेद्वाद्धयले क्युआर कोड लञ्च गरेपछि पुर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मीनकुमार विश्वकर्माले क्युआर कोड स्क्यान गरेर उद्घाटन पनि गरेका थिए । सहरलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको भन्दै मेन्याङ्बोले अब सबै कुरा डिजिटलमा जानुपर्ने बताए । ‘अब नोटको कारोबार पनि हराउदै जान्छ । डिजिटल पे हुन्छ, दुनियामा प्रयोग भइरहेको छ,’उनले भने,‘विकसित प्रविधिलाई राज्यको संरचनाले अगाडि ल्याउनुपर्छ । हामी जस्ता युवाले समाज विकास सँगसँगै राज्यको संरचनालाई पनि लैजानुपर्छ । प्रविधिमैत्री बनाउनुपर्छ समाजलाई ।’

मेन्याङ्बोले तीनै जना उम्मेद्वारको निर्वाचन प्रचार राम्रो भइरहेको बताउदै संविधान र लोकतन्त्रको रक्षा गर्ने गठबन्धनलाई मत दिने मतदाताहरुको धारणा आफुहरुले पाइरहेको बताए । ‘संविधान र लोकतनत्रको रक्षा गरेर आउनुभएको छ । नयाँ, युवा र फ्रेस उम्मेद्वार आउनुभएको छ, हामी साथ दिन्छौ भनेर मतदाताहरुले भनिरहनुभएको छ,’उनले थपे ।

जितेर गएपछि फर्केर नआउने गुनासो धेरै छ: थापा

qr5

प्रदेशसभा १(१) तर्फ नेपाली कांग्रेसका उम्मेद्वार उमेश थापाले जितेर गएपछि विगतका उम्मेद्वारहरु फर्केर नआउने गुनासो मतदाताहरुबाट अत्यधिक आएको बताए । उनले मतदाताहरुले अहिले भोट माग्न घरदैलोमा आएजस्तै पछि पनि आउन आग्रह गरिरहेको बताए । ‘विगतमा जो जो जितेर जानुभयो, उहाँहरु फर्केर आउनु भएन भन्ने धेरै गुनासो पायौं । हामीलाई पनि जितेर पनि आइदिनुस्, गुनासो पछि पनि सुनिदिनुस् भन्नुभएकोछ,’ थापाले भने,‘हामी पनि धरानकै हौं, पछि पनि आइरहन्छौं भनेका छौं । भन्ने मात्र होइन, हामी सधै जनताकै माझमा हुन्छौं, चोक चोकमा समय मिलाएर समस्याबारे छलफल गछौं ।’

उम्मेद्वार थापाले धरानलाई स्मार्ट सिटीकोरुपमा विकास गर्ने तथा सुचना प्रविधिको सहर बनाउने संकल्प अनुसार पहिलो काम उम्मेद्वारहरु आफैबाट शुरु भएको बताए । आफुहरुको सम्पुर्ण जानकारी दिने गरि क्युआर कोड र वेभसाइट तयार गरिएको भन्दै उनले धरानलाई स्मार्ट सिटीकोरुपमा अघि बढाउने पनि बताए । युवाहरुको प्रमुख समस्या बेरोजगारी रहेको भन्दै थापाले प्रदेश सरकारबाट स्वरोजगार बनाउने योजना ल्याएर समस्या हल गर्न प्रयास गर्ने बताए । यस्तै, धरान र क्षेत्र नं १ मा धार्मिक पर्यटनको विकास र प्रर्वद्धनमा ध्यान केन्द्रीत गर्नआवश्यक भएको पनि उनले बताए । धार्मिक पर्यटनको प्रर्वद्धन गर्न सके छिमेकी मुलुक भारतबाट मात्र १ प्रतिशत पर्यटक भित्र्याउन सके आर्थिक लाभ पुग्ने उनले बताए । 

गठबन्धनको जित हुनेमा निश्चिन्त छौं : पुर्वमन्त्री विश्वकर्मा

qr4

नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री मीन विश्वकर्माले सुनसरी १ मा गठबन्धनका उम्मेद्वारहरुको जित हुनेमा निश्चिन्त रहेको बताए । मुलुकको आवश्यकता र राजनीतिक परिस्थितिले फरक फरक पार्टीहरु एक ठाउँमा उभिएर गबठन्धन बनाएको भन्दै उनले संविधान रक्षा र लामो संघर्षबाट प्राप्त उपलब्धीहरुको संस्थागत विकासको लागि गठबन्धन अघि बढेको बताए ।

यसैगरि, उनले सुनसरी १ क्षेत्रको समृद्धि र धरानको साख फर्काउनको लागि योग्य, सक्षम युवा उम्मेद्वारहरुलाई गठबन्धनले अघि सारेको पनि पुर्वमन्त्री विश्वकर्माले बताए । ‘हामीले सक्षम युवा उम्मेद्वार प्रस्तुत गरेका छौं । उहाँहरुलाइ विजय गराएर यो क्षेत्रको समृद्धिको लागि हामी लाग्छौं । जितमा निश्चिन्त छौं, विजय हासिल गछौं र सामुहिकरुपमा साझा काम गछौ । धरानको विकास निर्विवाद भएर सँगै काम गछौं,’उनले भने ।