धरान: गोर्खा वेल्फेयर ट्रष्टले धरानको खानेपानी स्तरोन्नती आयोजना शुरुवात गरेको छ । 

खानेपानीको क्षमता वृद्धि गर्न ३ करोड बढी लगानी भएको आयोजनाको सोमबार मेयर हर्क साम्पाङ र रेजिमेन्ट एशोसिएशन पुर्वका अध्यक्ष पुर्वगोर्खा मेजर झप्तमान लिम्बुले शिलान्यास गरेका छन् । धरान भेडेटार सडक खण्डको आँपगाछी क्षेत्रमा पर्ने खर्दु खोलामा यो आयोजनाको शिलान्यास गरिएको हो । 

वेल्फेयर धरानका प्रमुख पुर्ण लिम्बुका अनुसार भुपु लाहुरेहरु बसोबास गर्ने सहरमा पानीको समस्या पहल गर्न ट्रष्टले २ लाख १२ हजार पाउण्ड योजना स्वीकृत गर्ने निर्णय गरेको थियो । अहिलेको दर अनुसार नेपाली रकम ३ करोड ३९ लाख बराबर रहेको छ । यो आयोजनाले थप ३ वटा इन्टेक संरचना निर्माण गर्नेछ भने खानेपानीको साविकको संरचनाहरुको स्तरोन्नती गर्ने लिम्बुले बताए ।

welfare1

वेल्फेयरका खानेपानीको प्रमुख कृष्णमान गुरुङले खानेपानी बोर्डसँग समन्वय गरेर डटेल सर्वे र डिजाइनको काम सकेर निर्माणको चरणमा रहेका बताए । बिशेष गरेर बर्खाको बेला पनि पम्प गरेर जंगलको भुमिगत पानी वितरण गर्नुपर्ने र धेरै विजुली खर्च आइरहेको कारण त्यो अवस्था अन्त्य गर्नको लागि आयोजना शुरुवात गरिएको गुरुङले बताए । आयोजनाले हाल खर्दुको इन्टेकभन्दा मास्तिर ३ वटा नयाँ इन्टेक बनाएर पानी संकलन गर्नेछ भने साविकको इन्टेक संरचना पनि सुधार गर्नेछ । यो आयोजनाले बर्खामा मात्र नभएर हिउँदमा पनि खेर गइरहेको पानी संकलन गरेर वितरणमा सहयोग गर्नेछ ।

भिडियो:

थप गरिएको ३ वटा इन्टेकको पानी कलेन्सन च्याम्बरमा जम्मा गरेर ओशो पार्क माथिको बानेटारस्थित ट्रटमेन्ट प्लान्टमा पुर्याइनेछ । त्यहाँ प्रतिदिन ६ मिलियन लिटर क्षमताको प्लान्टलाई पनि उचाई बढाएर ९ मिलियन बनाइने गुरुङले बताए । बानेटारको ट्रिटमेन्ट प्लान्टबाट पानीलाई फुस्रेको र्यापिड सेन्टफिल्टरमा पुर्याइनेछ । त्यहाँ ४÷४ मिलियनको ४ वटा कोठा रहेकोमा एउटा थपेर २० मिलियन क्षमताको बनाइनेछ । 

मेयर हर्क साम्पाङले वेलफेयरले धेरैतिर खानेपानीको लागि काम गरेको देखेको कारण धरानको लागि पनि केही गर्नुपर्छ भनेर आग्रह गरेको बताए । पुर्वगोर्खा सैनिकहरुकै सहयोगले निशानेमा २ लाख ३७ लिटर क्षमताको ट्यांक निर्माण भएको मेयर साम्पाङले बताए । बर्खायाममा जंगलको वेल र पम्प चलाउनु नपर्ने गरि खोलाहरुको पानी संकलन गर्नुपरेको र विजुलीको विल जोगाउन लागिपरेको पनि उनले बताए । आयोजनाले बर्खालाई बढी लक्षित गरिए पनि हिउँदामा पनि राहत मिल्ने उनले बताए । भुपु सैनिकहरुको औषधी उपचारको लागि छुट्याएको कोषको बजेट धरानको खानेपानीको लागि योगदान गरेको भन्दै मेयर साम्पाङले उच्च कदर गर्ने पनि बताए ।  

welfare2

welfare3