धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले व्यवस्थितरुपमा ओपिडी सञ्चालनमा ल्याएको दाबी गरेपनि यथार्थ भने ठिक उल्टो छ ।

चर्को दबाब परेपछि शुरुवाती दिनमा ओपिडीलाई केही व्यवस्थित गर्ने प्रयास भएको थियो । तर, अहिले पुनः ओपिडीको अव्यवस्थित मात्र होइन, कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सावधानीका उपायहरु लागु भएको छैन । आज प्रतिष्ठानको ओपिडीमा विरामी जचाउन मानिसहरुको घुँइचो थियो । त्यहाँ सामाजिक दुरीको कसैलाई वास्ता थिएन । एक प्रकारले हाट बजार जस्तै मानिसहरुको हुल थियो । यसले कोरोना संक्रमण फैलने उच्च जोखिम भएको भन्दै प्रतिष्ठानकै कर्मचारी, चिकित्सक मात्र होइन, सुरक्षार्थ खटिएका प्रहरीहरु पनि चिन्ता प्रकट गर्छन् ।

bpkihs 1

एक प्रहरीका अनुसार सुरक्षा गार्ड, प्रहरीले दुरी कायम गर्न आग्रह गर्दा पनि कसैले मानेनन् । दुरी कायम गराउन गोलो घेरा बनाइएको छ । तर मानिसहरुको भिड भने ढोकामा को छिटो पालो आउने भन्नेमा थियो । मेन गेटमा थर्मल गनले मात्र तापक्रम नापेको भरमा ओपिडीमा प्रवेश पाएका मानिसहरुमा कसैलाई संक्रमण भएमा अन्यलाई पनि संक्रमित बनाउन जोखिम छ । ‘शरीरको तापक्रम नापेको भरमा सबै छिरेका हुन्छन्, अहिले कोरोनामा कुनै लक्षण नदेखिएका पनि छ । एक जनालाई मात्र लागेको छ भने त सबैलाई सार्ने जोखिम भयो,’एक सुरक्षाकर्मीले भने । ओपिडीको भिडको बिषयमा बुझ्न प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटालाई सम्पर्क गर्दा उनले मोवाइल उठाएनन् । अन्य अधिकारीहरुलाई सम्पर्क गर्दा आधिकारिकरुपमा प्रवक्तासँग बुझ्न भन्दै पन्छिए ।

माछा बजार जस्तै भयो, म त जानै छोडे: वडाअध्यक्ष

bp-opd1

वीपी प्रतिष्ठान धरानको वडा नं १८ मा पर्छ । उक्त वडाका अध्यक्ष प्रविण राई प्रतिष्ठानले ओपिडी सञ्चालन गर्ने तयारी गर्दा देखि नै संक्रमणको जोखिम बढ्ने भन्दै विपक्षमा छन् । शुरुवातदेखि नै अव्यवस्थित भएको ओपिडी विरोधकै कारण शुरुवाती २ दिन केही व्यवस्थित भएको थियो । तर, अहिले फेरि माछा बजार जस्तै हुन थालेको अध्यक्ष राईको भनाई छ । ‘माछा बजार जस्तै नै भयो, बिहान त एम्बुलेन्स, टेम्पो, सफारी, बाईकको र मानिसको भिड लाग्छ । लकडाउनको कुनै अर्थ नै भएन,’उनले भने,‘म त हिजोआज वीपी गेट तिर पनि जान छोडेको छुँ ।’

५० प्रतिशत धरानबाहिरबाट आउछन्: मेडिकल रेकर्ड शाखा

bp-opd5

वीपी प्रतिष्ठानको मेडिकल रेकर्ड शाखाका अनुसार ओपिडीमा आउनेहरु ५० प्रतिशत जति मात्र धरानभित्रका छन् । बाँकी अन्य विभिन्न जिल्लाबाट आउने गरेको रेकर्ड शाखाका प्रमुख सुनिल पराजुलीले बताए । ‘५० प्रतिशत धरानका हुन्छन्, बाँकी त अन्य जिल्लाबाट आएका छन्,’उनले भने । उनका अनुसार आज ११ बजेसम्मको रेकर्ड हेर्दा ३६८ जना नयाँ विरामी ओपिडीमा दर्ता भएका छन् । पुरानो फलोअपका विरामीहरु पनि आउने भएकोले संख्या ५ सयको हाराहारीमा पुग्ने उनको भनाइ छ ।

वडा नं १८ का अध्यक्ष प्रविण राईका अनुसार धरान बाहिरबाट विरामीहरु एम्बुलेन्समा आउने गर्छन् । ती एम्बुलेन्सहरु धेरै जसो सिराहा, सप्तरी र धनुषाको भएको अध्यक्ष राईले बताए । प्रदेश नं २ का सबै ८ जिल्ला कोरोना संक्रमित जिल्ला हो । त्यहाँबाट आउने विरामीहरुबाट पनि उतिकै जोखिम हुन्छ ।
आरडिटी वा पिसिआर जाँचको रिपोर्ट हेरेर मात्र आउन दिन माग

bp-opd2

अहिले काठमाण्डौं उपत्यका प्रवेश गर्नको लागि विरामीलाई पनि कोरोना संक्रमण छ कि छैन भन्ने रिपोर्ट हेरेर मात्र दिने गरिएको छ । यस्तै जाँच वीपी प्रतिष्ठानको ओपिडीमा उपचार गराउन आउने विरामीहरुलाई पनि अनिवार्य गराउनुपर्ने वडाअध्यक्ष राईको भनाई छ । ‘यो बिषयमा मेयर साबसँग पनि कुरा गरेको छुँ । काठमाण्डौं मात्र नेपाल त होइन नि । त्यहाँको मात्र जनता होइनन् नि । धरानमा पनि तिनकुनेमा नै एम्बुलेन्समा पनि आरडिटीकै भएपनि रिपोर्ट अनिवार्य जाँच गर्ने व्यवस्था हुनुपर्छ,’उनले भने ।

कुरुवालाई खाना खुवाउने अभियान बन्द

bp-opd3

लकडाउनको कारण वीपी प्रतिष्ठानका विरामीहरुका कुरुवाले खाना पनि खान नपाउने अवस्था थियो । त्यसैले वडा नं १८ ले चैत १४ गतेदेखि कुरुवाहरुलाई खानाको व्यवस्था गर्दै आएको थियो । तर, अहिले वडा १८ ले यो अभियान रोकेको छ । प्रतिष्ठानले ओपिडी सञ्चालन गरेपछि संक्रमणको जोखिम भएकोले बन्द गर्नुपरेको वडाअध्यक्ष राईले बताए ।

उनका अनुसार कुरुवाहरुलाई प्रतिष्ठानको मेनगेटमा नै खानाको प्याकेज वितरण गर्ने गरेको थियो । अहिले त्यही मेनगेटमा ओपिडीको लागि घुँइचो हुने र संक्रमणको जोखिम पनि हुने भएकोले बन्द गर्नुपरेको उनले बताए । ‘हामीले आफ्नो कर्मचारी, जनप्रतिनिधिहरुको पनि त सुरक्षामा ध्यान दिनुपर्यो, त्यसैले अहिले खाना खुवाउने कायर्मक्रम बन्द गरेका छौं,’अध्यक्ष राईले भने ।