धरान: सुनसरी क्षेत्र नं १ बाट  प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार मनोज कुमार मेन्याङवोले आफू जनताको सेवक बन्नको लागि उम्मेद्वार बनेको बताएका छन् ।

 धरानको चुनावी घरदैलो पश्चात आयोजित कोण सभामा बोल्दै मेन्याङबोले आफु शासक बन्न नभएर जनताको सेवक हुन उम्मेद्वार भएको बताएका हुन् । वितगमा पनि आफूले स्थानीय निकायमा दश वर्ष जनताको सेवक भएर काम गरिसकेको अनुभव रहेको र आगामी दिनमा पनि उक्त अनुभव सदुपयोग गर्दै सुनसरी क्षेत्र नं १ का जनताको पक्षमा नीति बनाउन र विकासको लागि पहलकदमी गर्ने उनले बताए ।

आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि अहारोत्र खटेर यस क्षेत्रलाई नमुना निर्वाचन क्षेत्र बनाएर देखाउने उनले प्रतिवद्धता पनि जनाएका छन् । उम्मेद्वार मेन्याङबोले आफूले सस्तो लोकप्रियताको लागि यो गर्छु त्यो गर्छु भनेर झुठो आश्वासन नबाढ्ने पनि बताए । प्रतिनिधि सभा नीति निर्माणसँगै विकास निर्माणको काम पनि गर्ने भएकोले त्यसका लागि आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने उनले बताए ।

मेन्याङ्बोले युवा समूहलाई सम्वोधन गर्दै आफू युवाको पक्षमा विगतदेखि नै काम गर्दै आएको र आफू निर्वाचित भएर गएको खण्डमा युवा लक्षित नीति र कार्यक्रम निर्माणमा पहल गर्ने प्रतिवद्धता पनि जनाए । जनता आफूलाई जिताउन आतुर रहेको दावी गर्दै मेन्याङ्बोले आफ्नो जीत सुनिश्चित रहेको पनि दाबी गरे ।